काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शोमा अवलोकनकर्ताको चहलपहल बढ्दै गएको छ । शनिबार मात्रै करिब ३५ हजार दर्शकले प्रदर्शनी अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
गते मंगलबारदेखि सुरु भएको अटो शोको पहिलो दिन करिब ३० हजारले अवलोकन गरेका थिए । भोटेकोशी बाढीपछि बुधबार र बिहीबार केही सुस्ताएको प्रदर्शनीमा शुक्रबारदेखि पुनः चहलपहल बढेको हो ।
सार्वजनिक बिदाका कारण शनिबार बिहानैदेखि नयाँ सवारी किन्न चाहने ग्राहकको बाक्लो उपस्थिति देखिएको थियो । विशेषगरी विद्युतीय कार, मोटरसाइकल र स्कुटरका नयाँ मोडलप्रति आकर्षण बढी देखिएको छ । यद्यपि पेट्रोल तथा हाइब्रिड सवारीसाधनबारे जानकारी लिन आउने ग्राहकको संख्या पनि उल्लेख्य छ ।
यसपटकको शोमा करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक हुनुका साथै आधा दर्जन नयाँ ब्रान्डले नेपाली बजारमा प्रवेश गरेका छन् । २३ चारपांग्रे, १७ हलुका व्यावसायिक र १३ दुईपांग्रे ब्रान्डसहित ५३ वटा सवारी ब्रान्ड सहभागी छन् । अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, बैंक तथा बीमासहित २०० भन्दा बढी स्टल राखिएका छन् ।
कम्पनीहरूले ल्याएका छुट, बुकिङ अफर र सहज वित्तीय योजनाले पनि ग्राहकको आकर्षण बढाएको छ । भदौ १४ गतेसम्म चल्ने प्रदर्शनीको अन्तिम दिनसम्म अवलोकनकर्ताको संख्या अझ बढ्ने आयोजकको अपेक्षा छ । पछिल्लो समय सुस्ताएको अटो बजारबीच शनिबारको उत्साहजनक भीडले सवारीसाधनप्रति नेपाली उपभोक्ताको चासो कायमै रहेको संकेत गरेको व्यवसायीहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?