काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनेको नेपाली चलचित्र क्षेत्र पुनः लयमा फर्कन थालेको छ । विपद्का कारण केही चलचित्रले प्रदर्शन मिति सारे पनि केहीले प्रदर्शन तथा प्रचार–प्रसारलाई निरन्तरता दिँदा सिनेमा बजार क्रमशः चलायमान बन्दै गएको हो ।
आइतबार नयाँ नेपाली चलचित्र ‘बेहुली’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता अर्जुन पोखरेलले चलचित्रको कुल व्यावसायिक कमाइबाट निर्माताको हिस्सामा पर्ने रकमको पाँच प्रतिशत बाढी प्रभावितका लागि राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गर्नुभयो ।
निर्माता पोखरेलले रसुवा–त्रिशूली नदी बाढी प्रभावितलाई केही हदसम्म राहत पुगोस् भन्ने उद्देश्यले चलचित्रको कमाइबाट निर्माताको भागमा पर्ने पाँच प्रतिशत रकम उद्धार कोषमा प्रदान गर्न लागेको बताउनुभयो । उहाँले अकल्पनीय बाढीपछि पुनः लयमा फर्कन लागेको चलचित्र क्षेत्रलाई थप चलायमान र गतिशील बनाउन सम्बन्धित सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?